बाँके । बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि पीडित भनिएका आमा र छोराको सुरक्षामा ध्यान दिन माग गरिएको छ । जनआस्था डटकमले उक्त अडियो सार्वजनिक गरेपछि सांसद रामकुमारी झाँक्रीले सरकार र नेपाल प्रहरीसँग उनीहरूको सुरक्षाको व्यवस्था गर्न आग्रह गरेकी छन् ।
सार्वजनिक अडियोमा एक महिला, पूर्वराज्यमन्त्री तथा उनका छोरालाई लक्षित गरी अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिइएको सुनिन्छ। अडियो सार्वजनिक भएपछि यस विषयले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ भने सुनारप्रति आलोचना भइरहेको छ ।
सांसद झाँक्रीले घटनालाई सामान्य व्यक्तिगत विवादका रूपमा मात्र लिन नहुने बताउँदै सबैभन्दा पहिले पीडितको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत अपराधमाथि अनुसन्धान र कारबाहीसँगै सम्भावित जोखिममा रहेका व्यक्तिको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक गरेकी हुन् ।
“अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,” झाँक्रीले लेखेकी छन् । उनले नेपाल प्रहरीलाई तत्काल सुरक्षा प्रबन्ध मिलाउन आग्रह गर्दै त्यसपछि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्नुपर्ने बताएकी छन् ।
नाबालक बालकमाथि लक्षित अपमानजनक अभिव्यक्ति र धम्कीलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने झाँक्रीको भनाइ छ । वयस्कबीचको विवादमा बालबालिकालाई निशाना बनाउन नहुने उल्लेख गर्दै उनले सम्भावित जोखिमलाई ध्यानमा राखेर सम्बन्धित महिला र बालकको सुरक्षामा विशेष संवेदनशीलता अपनाउन सरकार तथा प्रहरीको ध्यानाकर्षण गराएकी छन् ।
झाँक्रीले रास्वपा सभापति रवि लामिछानेको पनि ध्यानाकर्षण गराउँदै पार्टीले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी छन् । घटनाको निष्पक्ष छानबिन, पीडितको सुरक्षा र दोषीमाथि कानुनी कारबाहीको माग उठिरहेका बेला सम्बन्धित निकायले कसरी अघि बढ्छन् भन्ने चासो बढेको छ ।









