नेपालगञ्ज (बाँके), १९ असोजः भारतमा रोजगारीलगायतका कामका लागि गएका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किन थालेसँगै बाँकेको जमुनाहा नाकामा यात्रुको सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा जमुनाहा नाकामा यात्रुको सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी स्थापना गरिएको संयुक्त यात्रु सहायता कक्षको सोमबार शुभारम्भ गर्नुभयो । चाडपर्वका समयमा नाकामा बढ्ने यात्रुको चापलाई मध्यनजर गर्दै यात्रुलाई आवश्यक सूचना, समन्वय र सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको उहाँको भनाई थियो ।
भारतबाट फर्किने नेपाली यात्रु बाटोमा ठगी, लुटपाटलगायतका घटनामा पर्न सक्ने सम्भावनालाई ध्यान दिँदै सुरक्षा व्यवस्था थप मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । “नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ ।” उहाँले भन्नुभयो, उहाँका अनुसार भारतबाट फर्किने नेपालीले बाटोमा ठगी तथा लुटपाटलगायतका समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।
चाडपर्वका समयमा भारतमा रोजगारीका लागि गएका नेपाली ठूलो सङ्ख्यामा स्वदेश फर्किने भएकाले जमुनाहा नाकामा यात्रुको चाप बढ्ने गरेको छ । यात्रुको सहज आवागमन तथा सुरक्षाका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले समन्वयात्मक रूपमा काम गरिरहेका छन् । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
“भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने गरी सुरक्षा व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार यात्रुको चापलाई लक्षित गरी जमुनाहा नाकामा सोमबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्षमा नेपाल प्रहरीका जनपद तथा ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चाडपर्वका समयमा सीमावर्ती नाकाबाट भित्रिने यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न सुरक्षा निकायले नाकादेखि बसपार्कसम्म निगरानी तथा समन्वयलाई प्राथमिकता दिएको छ । नेपालगञ्ज र कोहलपुर बसपार्कमा भने मंगलबारदेखि सहायता कक्ष सञ्चालन गरिनेछ ।









