नेपालगन्ज (खजुरा), २६ असोः बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लब र एन.क.स्पोर्टस क्लब विजयी भएका छन् । न्यू डाँफे स्पोर्टस क्लबको आयोजनामा खजुरा मिनी रंगशाला, डी गाउँमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।
सोमबार भएको पहिलो खेलमा न्यू भद्रकाली स्पोर्टस क्लबले न्यू बागमती स्पोर्टस क्लबलाई पराजित गर्यो। प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको अन्तिमतिर न्यू भद्रकालीका जर्सी नम्बर ७ का खेलाडी निशान्त रानामगरले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
सोमबारकै अर्को खेलमा एन।के। स्पोर्टस क्लबले भगवती स्पोर्टस क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा एन।के। स्पोर्टसले चार गोल गर्दा भगवती स्पोर्टस क्लबले दुई गोल मात्र गर्न सक्यो ।
न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष बालाराम खत्रीले प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल सञ्चालन हुने जानकारी दिए । उनका अनुसार पहिलो खेलमा जय किसान स्पोर्टस क्लब र नवज्योति युवा क्लबबीच दिउँसो २ बजेपछि प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा न्यू डाँफे स्पोर्टस क्लब (बी) र एन.के. स्पोर्टस क्लब आमनेसामने हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा नेपालगन्ज न्यूरो हस्पिटलले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। त्यसैगरी, क्लबका संरक्षक तथा खजुरा गाउँपालिका–४, डी गाउँ निवासी हाल अमेरिकामा रहेका समाजसेवी लिलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका छन् ।
न्यू डाँफे स्पोर्टस क्लबका सचिव तेजेन्द्र योगीका अनुसार प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको छ । दसैँ र तिहारको अवसर पारेर आइतबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।









