नेपालगन्ज । बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य परीक्षणका क्रममा भएको भनिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका सामग्रीप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले ध्यानाकर्षण जनाएको छ ।
घटनालाई लिएर पत्रकारिता र सञ्चारमाध्यमलाई समेत जोड्दै विभिन्न सामग्री सार्वजनिक भइरहेका बेला महासंघले डलर, भ्यूज र फलोअर्सका लागि संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने प्रवृत्तिप्रति आपत्ति जनाएको हो ।
महासंघका सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तिमा पत्रकारिता सत्य, तथ्य, सन्तुलन र सामाजिक उत्तरदायित्वमा आधारित हुनुपर्ने भन्दै तथ्य पुष्टि नगरी भिडिओ सामग्री प्रसारण नगर्न तथा संवेदनशील घटनामा संलग्न व्यक्तिको गोपनीयता र मर्यादाको सम्मान गर्न आग्रह गरिएको छ ।
विशेषगरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा पहिचान खुल्ने तस्बिर, भिडिओ वा विवरण सार्वजनिक गर्दा थप क्षति पुग्न सक्ने भएकाले पत्रकार तथा सञ्चारमाध्यमलाई विशेष सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ । महासंघले भ्यूज, फलोअर्स वा आर्थिक लाभका लागि सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता र मर्यादा कमजोर बनाउने जनाएको छ ।
सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट भएका सबै सामग्री पत्रकार वा सञ्चारमाध्यमले तयार गरेका नहुने स्पष्ट पार्दै महासंघले त्यस्ता सामग्रीका आधारमा समग्र पत्रकारिता र पत्रकारलाई आरोपित नगर्न पनि आग्रह गरेको छ ।
महासंघले घटनालाई सूक्ष्म रूपमा नियालिरहेको जनाउँदै पत्रकारिता वा सञ्चारमाध्यमको नाम प्रयोग गरी आचारसंहिताविपरीत गतिविधि भएको पाइए आवश्यक संस्थागत पहल गर्ने जनाएको छ । महासंघका सदस्यबाटै अवाञ्छित गतिविधि भएको पुष्टि भए तथ्यका आधारमा आवश्यक कारबाहीका लागि पहल गरिने विज्ञप्तिमा उल्लेख छ ।









