नेपालगञ्ज (बाँके), २४ असोजः नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा बाँकेको नेपालगञ्जमा सञ्चालन हुने ऐतिहासिक रामलीला मञ्चनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगञ्जको पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको रामलीलालाई यस वर्ष पनि भव्य रूपमा सञ्चालन गर्ने तयारी पूरा भएको रामलीला सञ्चालक समितिले जनाएको हो ।
समितिका अध्यक्ष सन्तोष कुमार क नोडियाका अनुसार रामलीला मञ्चनका लागि कलाकारको तयारी पूरा भएको तथा मञ्च, लाइट र सुरक्षालगायतका व्यवस्थापनको काम लगभग अन्तिम चरणमा पुगेको छ । कलाकारलाई बासको व्यवस्थासमेत गरिएको छ । अध्यक्ष कनोडियाका अुनसार रामलीला मञ्चनको औपचारिक समुद्घाटन भोली आईतबार राति ८ बजे नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्नुहुनेछ । त्यसपछि हरेक दिन साँझ ६ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन हुनेछ ।
राम र सीताको जीवनमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिने रामलीलामा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप तथा शुभ राज्याभिषेकलगायतका प्रसङ्ग आकर्षणका रूपमा रहनेछन् । रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमण मण्डलको २५ जनाको कलाकार टोली नेपालगञ्ज आउने आज पत्रकार सम्मेलन मार्फत समितिले जनाएको छ ।
समितिका अनुसार विगत १ सय ५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीलाले नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक परम्परालाई जोगाउँदै आएको छ । उक्त पत्रकार सम्मेलन मार्फत भगवान् श्रीरामको आदर्श जीवन, आदर्श शासन र मर्यादा पुरुषोत्तमको दिव्य चरित्रलाई जनमानसमा पुनः जीवन्त बनाउने तथा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले रामलीला आयोजना हुँदै आएको समितिले जनाएको छ ।
समितिका अध्यक्ष कानोडियाले रामलीला मञ्चनलाई निरन्तरता दिन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई कार्यक्रमको व्यापक प्रचारप्रसार गरिदिन आग्रह गर्नुभएको छ । समितिका अनुसार यस वर्ष रामलीला मञ्चनको १ सय ५९ औँ शृङ्खला असोज २५ गते अर्थात भोली घटस्थापनादेखि शुरु हुनेछ ।









