बाँके । बाँकेमा सुरक्षित गर्भपतन सेवा लिने महिलाको संख्या पछिल्लो एक वर्षमा बढेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२, ०८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सेवा लिनेमध्ये २० वर्षमुनिका एक सय ३४ जना रहेका छन् । सो अवधिमा १२ हप्ताभन्दा माथिको गर्भपतन सेवा लिनेको संख्या २८ रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१, ०८२ मा बाँकेमा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ४१७ ले बढेको हो ।
नेपाल परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनुपर्ने जोखिम क्रमशः घट्दै गएको बताउनुभयो ।
नेपालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएपछि महिलालाई सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवाको पहुँच बढेको उहाँको भनाइ छ । नेपाल परिवार नियोजन संघका २० वटा शाखामध्ये बाँके शाखाले पनि सुरक्षित गर्भपतन सेवा तथा यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भेरी अस्पताल नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकीले पछिल्लो समय स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिने क्रम बढेकाले जोखिम न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो ।
उहाँका अनुसार असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, संक्रमण, पाठेघरमा चोटपटक लाग्नेदेखि महिलाको ज्यानै जोखिममा पर्नेसम्मका समस्या देखिन सक्छन् । त्यसैले सरकारले तोकेका स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन उहाँले आग्रह गर्नुभयो ।









