बाँके । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्दार गरेको छ । एक वर्षको अवधिमा वन कार्यालय बाँकले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्दार गरेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले बताउनुभयो ।
उहाँका अनुसार अधिकांश वन्यजन्तु जीवितै र केही मृत अवस्थामा भएकालाई पनि उद्दार गरिएको छ । सहायक डिभिजनल वन अधिकृत खड्काले अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघ लगायतका वन्यजन्तुको जिल्लाका विभिन्न स्थानबाट उद्दार गरिएको बताउनुभयो ।
यस्तैगरी करेत सर्प एक, निल गाइको बच्चा एक, हुचिल (वान उल) एक, धामन सर्प एक, बँदेल एक (मृत) चितुवा एक वटा (मृत), सालक एक वटा, बाघ एक वटा (मृत) र चित्तलको एउटा बच्चालाई उद्दार गरिएको थियो । जीवितै उद्दार गरिएका वन्यजन्तुहरूलाई बाँकेका विभिन्न सामुदायिक वनहरूमा पुर्नस्थापना गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।
घाइते वन्यजन्तुहरूलाई डिभिजन वन कार्यालयमा राखेर औषधि उपचार पश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुर्नस्थापना गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसहरूको बढी चहलपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु जस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरू आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र परेका त्यसता वन्यजन्तुहरूलाई उद्दार गरिँदै आएको उहाँले बताउनुभयो ।









