काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई उनीसंग सम्बन्धित विवादको छानबिन टुंगोमा नपुग्दासम्म माननीयको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने निर्णय विज्ञप्ति सार्वजनिक गर्दै औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
रास्वपाका महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय उठेकाले पार्टीले यसलाई गम्भीरतापूर्वक लिएको उल्लेख छ ।
पार्टीले विधिको शासन, सुशासन र नागरिकप्रतिको जवाफदेहितालाई आफ्नो प्राथमिकतामा राखेको जनाउँदै कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथिको दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरसँग सम्बन्धित विषयमा शून्य सहनशीलताको नीति अपनाइने पनि विज्ञप्तिमा उल्लेख छ ।
अनुशासन आयोगलाई छानबिनको जिम्मेवारी
सुनारसँग सम्बन्धित विषयको वास्तविकता पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको रास्वपाले जनाएको छ । छानबिन पूरा नहुँदासम्म अनुसन्धान प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीको भनाइ छ ।
अनुसन्धानमा सहयोग गर्ने रास्वपाको प्रतिबद्धता
रास्वपाले सार्वजनिक भएका विषयको गम्भीरतालाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । अनुसन्धानका क्रममा पार्टीका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यका निकायबाट हुने अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कदम चाल्ने जनाएको छ ।
कानुन उल्लंघन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पार्दै पार्टीले आरोपको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्नेमा जोड दिएको छ । छानबिनको निष्कर्षअनुसार कानुन तथा पार्टी विधानबमोजिम आवश्यक निर्णय लिइने विज्ञप्तिमा उल्लेख छ ।









