नेपालगन्ज (बाँके), २५ असोज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा खजुरा मिनि रंगशाला डी गाउँमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू हिमालय एफसी एफ गाउँले विजयी सुरुवात गरेको छ ।
न्यू हिमालयले मोडल एफसी सी गाउँलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै जित हासिल गरेको हो । खेलमा न्यू हिमालयका जर्सी नम्बर १३ का खेलाडी बवी पुनमगरले निर्णायक गोल गरेको आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष बालाराम खत्रीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष धनराम वलीले एम्पायरलाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो । कार्यवाहक अध्यक्ष वलीले जिल्ला स्तरीय प्रतियोगिताले बाँकेका खेलाडीको पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीले आफ्नो वडामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलकुद गतिविधि सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले खेलाडी उत्पादनलाई वडा सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
खजुरा गाउँपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक कृष्णा पोखरेलले खजुरा फुटबल खेलको हब बन्दै गएको बताउँदै यसको थप विकासका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
खजुरा गाउँपालिका खेलकुद विकास परिषद्का सदस्य सचिव छवि विष्टले प्रतियोगितालाई दोस्रो खजुरा गोल्डकपको तयारीका रूपमा लिइने बताउनुभयो । उहाँले आगामी दोस्रो खजुरा गोल्डकपमा सहभागी हुने अधिकांश खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने अपेक्षा व्यक्त गर्दै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
खजुराकी युवा समाजसेवी मिरा खनालले युवालाई सही मार्गमा डोर्याउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा नेपालगन्ज न्युरो हस्पिटलले सहकार्य गरेको क्लबका अध्यक्ष खत्रीले बताउनुभयो । क्लबका संरक्षक तथा खजुरा गाउँपालिका वडा नम्बर ४, डी गाउँ निवासी हाल अमेरिकामा रहनुभएका समाजसेवी लिलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गर्नुभएको हो । थापाले यसअघि आयोजित खजुरा गोल्डकपमा पनि प्रथम पुरस्कारस्वरूप सात लाख रुपैयाँ प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुने क्लबका सदस्य तथा मिडिया संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो २ बजे भगवती स्पोर्ट्स क्लब र एनके स्पोर्ट्स क्लबबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे बागमती स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको न्यू डाँफे स्पोर्ट्स क्लबका सचिव तेजेन्द्र योगीले जानकारी दिनुभयो । दसैँ र तिहारको अवसर पारेर आइतबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।









