बाँके । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरी बाँकेले जन्मिएको नाभी सहीत लोपउन्मुख प्रजातिको चौकाको बच्चालाई उद्यार गरेको छ । गत आर्थिक वर्षको ०७९ फाल्गुनमा बाँकेको राप्ति सोनारी २ मदुईको असोक सामूदायिक वनबाट भागेर गाउँमा पसेको उक्त चौकाको बच्चालाई उद्यार गरेको कार्यालय प्रमुख सुशील सुवेदीले बताउनुभयो । उहाँका अनुसार उक्त चौकाको बच्चालाई स्थानियले समातेर प्रहरीलाई बुझाएको र प्रहरीले सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
नाभी सहीत उद्यार गरिएको उक्त चौका अहिले ५ महिनाको भएको छ । सानोमा दुध खुवाएर बचाएको उक्त चौकाले अहिले दुधसँगै घाँसका कलिला मुन्टा र पातहरु आफै खाने गरेको कार्यालय प्रमुख सुबेदीले बताउनुभयो । ‘हामीले ल्याउँदा यो नाभीसँगै थियो । दुध खुवाएर यस्लाई बचाएका हौं ।’ उहाँले भन्नुभयो,‘अहिले आफै घाँस खोजेर खान सक्ने भएको छ । यस्लाई अलिहे पनि दुध चाहिन्छ ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संरक्षित जनावर अन्तर्गत चौका लोपउन्मुख प्रजातिमा पर्दछ । चौकाको संरक्षण गर्न निकै नै आवश्यक भएको हुनाले उद्यार गरिएको उक्त चौकाको बच्चालाई ललितपुरको जावलाखेलमा रहेको चिडिखानामा पठाउने वा अन्य ठाउँमा व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको कार्यालय प्रमुख सुबेदिले बताउनुभयो । ‘यो लोपउन्मुख प्रजातिमा पर्ने वन्यजन्तु मध्यको एक प्रजाति भएको हुनाले यस्को संरक्षण र वशं बढाउन निकै नै आवश्यक छ । यस्लाई अनुकुल वातावरणमा कहाँ पठाउने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौं ।’ उहाँले भन्नुभयो ।
कार्यालय प्रमुख सुबेदीले उद्यार गरिएको उक्त चौकाको बच्चा जन्मिएदेखि नै मान्छेसँगै हुुर्किएको हुनाले मान्छेको बानी परेको बताउँदै जंगलमा छाड्न खतरा हुने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यो मान्छेसँगै हुर्किएको हुनाले यस्लाई जंगलमा छाड्दा भागेर गाउँमा पस्ने हो कि भन्ने डर छ । यस्को संरक्षणका लागि यदि जाउलाखेलमा पठाईयो भने त्यो वातावरण यस्कालागि कति उपयुक्त हुन्छ त्यो पनि चिन्ताको विषय छ ।’ उद्यार गरिएको उक्त चौकाको संरक्षणका विषयमा गहन छलफल गरेपछि मात्रै उपयुक्त वातावरणमा पठाउने उहाँले बताउनुभयो । उक्त चौकाको बच्चा भाले प्रजातिको हो ।









