नेपालगञ्ज (बाँके), ९ कात्तिकः नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने भएको छ । आगामी कात्तिक १४ र १५ गते नेपालगञ्ज रंगशालामा सञ्चालन हुने प्रतियोगितामा भारतबाट ५० जना र देशभरीबाट करिब एक सय ५० जना गरी भारत र नेपालका गरी करिब २ सय जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
नेपालगञ्ज स्विमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले पत्रकार सम्मेलन मार्फत स्विमिङ खेलको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । “स्विमिङ स्वास्थ्य, सुरक्षा र जीवनशैलीसँग जोडिएको महत्वपूर्ण खेल हो ।” उहाँले भन्नुभयो, “यसलाई जीवन उपयोगी सीपका रूपमा विकास गर्न र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।”
नेपालगञ्ज स्विमिङ क्लब लुम्बिनी प्रदेशकै पहिलो स्विमिङ क्लब भएको जानकारी दिंदै अध्यक्ष न्यौपानले नेपालगञ्जका स्विमिङ खेलप्रेमी, उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट तथा सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको पहलमा क्लब स्थापना गरिएको बतानउनुभयो । क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका स्विमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।
नेपालगञ्ज स्विमिङ क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले प्रतियोगिताले स्विमिङ खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले बालबालिका तथा युवालाई पौडी खेलप्रति आकर्षित गर्नुका साथै उनीहरूमा आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको स्विमिङ प्रतियोगिता आयोजना हुनुले यस क्षेत्रको खेलकुद विकासमा सकारात्मक सन्देश दिनेछ ।
पहिलो र दोस्रो संस्करणको सफल आयोजनापछि तेस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा आठ वर्षदेखि १७ वर्षसम्मका बालबालिका तथा १७ वर्षभन्दा माथिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले तथा व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छ विधाका विभिन्न उमेर समूहमा गरी ८० वटा इभेन्ट सञ्चालन हुनेछन् ।
प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं ६, १२ र १८ तथा जानकी गाउँपालिका वडा नं ३, बाँके, केएल दुगड समूहले पनि सहयोग गरेका छन् ।
प्रतियोगितामा सहभागी खेलाडीलाई खेल अवधिभर नेपालगञ्जका चारतारे स्तरका होटलमा निःशुल्क बसोबास तथा खानाको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगिताका बैंकिङ साझेदारका रूपमा नबिल, सिद्धार्थ र माछापुच्छ्रे बैंक रहेका छन् । विद्यालय साझेदारका रूपमा आदर्श, बागेश्वरी एकेडेमी, किड्स किंगडम नेपालगञ्ज र शिखा एकेडेमीलगायत विद्यालय रहेका छन् ।









