बाँके, १० भदौः प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विपद्मा परेकाको तत्काल उद्धार तथा राहतका लागि सरकारलाई सबै पक्षले सहयोग गर्न अपिल गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्तीका अवसरमा आज बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सांसद राईले प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहेका बेला राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
“यो दुःखद घडीमा विपद्मा परेका नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हो । सरकारले तत्काल उद्धार र राहतको काम अघि बढाइरहेको अवस्थामा सबै राजनीतिक दल, सरकारी निकाय, निजी क्षेत्र तथा आम नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले गरिरहेको प्रयासमा सबैले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक विपद्को सामना गर्न राज्यका सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।
बाँके क्षेत्र नं। २ बाट नेकपा ९एमाले० को सुर्य चिह्नबाट निर्वाचित सांसद राईले विपद्को समयमा राजनीतिक दलहरू एकढिक्का भएर उद्धार तथा राहतमा परिचालित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक विपद् कुनै दल वा समुदाय विशेषको समस्या होइन । यस्तो अवस्थामा सबै राजनीतिक दल एक ठाउँमा उभिएर पीडितहरुको उद्धार र राहतमा जुट्नुपर्छ ।”
सरकारले विपद् प्रभावित क्षेत्रमा राहत तथा सहयोग वितरणका लागि अपनाएको एकद्वार प्रणालीप्रति सहयोग र सहकार्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा राहत तथा उद्धारलाई नै मुख्य प्राथमिकता दिनुपर्ने बताउनुभयो । राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र आवश्यकताका आधारमा सञ्चालन गर्न सरकारसँग समन्वय गरेर अघि बढ्न उहाँले सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।
उहाँले सरकारी निकायसँगै निजी क्षेत्र, सामाजिक संस्था, धार्मिक समुदाय, युवा तथा स्वयंसेवी संस्थाहरूलाई पनि विपद् प्रभावितको उद्धार र राहतका लागि एकजुट हुन आह्वान गर्नुभयो । पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा नेपालगञ्ज आउनुभएका सांसद राईले विपद्का बेला मानवताको सेवा नै सबैभन्दा महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा आफू पनि उद्धार तथा राहत अभियानमा सक्रिय हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भोलिदेखि अखिलका युवाहरू तथा मुस्लिम समुदायलाई समेत एकढिक्का बनाएर विपद् प्रभावितको उद्धार र राहतका लागि आवश्यक सहयोग जुटाउने तथा आफैँ पनि त्यस कार्यमा सक्रिय रूपमा लाग्नेछु ।”
सांसद राईले विपद् प्रभावित नागरिकलाई राज्यको अनुभूति हुने गरी तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा दीर्घकालीन र प्रभावकारी योजना आवश्यक रहेको बताउनुभयो ।
प्राकृतिक विपद्का बेला मानवीय संवेदना र सामाजिक एकता अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले सबै नागरिकलाई संयमित भई प्रभावित परिवारको सहयोगमा जुट्नसमेत आग्रह गर्नुभयो ।






