बाँके, १० भदौः बाँके क्षेत्र नं. २ का सङ्घीय सांसद मोहम्मद इस्तियाक राईले समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै नेपालगञ्जलाई हिन्दु मुस्लिम समुदायको साझा सद्भावको शहरका रूपमा पुस्तौँसम्म चिनाइराख्न सबैको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१औँ जन्मजयन्तीका अवसरमा बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उहाँले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै आपसी भाइचारा, सहकार्य र समझदारीलाई थप बलियो बनाउन आग्रह गर्नुभयो ।
“हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। समाजमा आपसी भाइचाराको सम्बन्ध कायम राख्दै शान्ति र सद्भावको वातावरण बनाउने हामी सबैको दायित्व हो ।ू उहाँले भन्नुभयो, ूयो शहरलाई सद्भावको शहरका रूपमा हामीले नै पुस्तौँपुस्ता चिनाइराख्नुपर्छ र यो हामी सबैको दायित्व भएकाले यसलाई आफ्नो जिम्मेवारीका रूपमा पूरा गर्न म सबैलाई आग्रह गर्दछु ।”
उहाँले धार्मिक विविधताबीचको एकता नै समाजको बलियो आधार भएकाले सबै समुदायबीच आपसी सहयोग, सहकार्य र भाइचाराको भावना अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो । सांसद राईले धार्मिक पर्वलाई सामाजिक सद्भावसँगै वातावरण संरक्षणको अभियानसँग जोड्ने उद्देश्यले मंगलबार नेपालगञ्जमा नागरिक अगुवा तथा हरित अभियन्तासँग सहकार्य गरी वर र पीपलका बिरुवा रोप्नुभएको थियो ।
उहाँका अनुसार धार्मिक पर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । र्यालीका क्रममा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिले शान्तिको प्रतीक मानिने परेवाका जोडी उडाएका थिए ।






