बाँके १० भदौः इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्तीका अवसरमा बुधबार नेपालगञ्जमा र्याली निकालिएको छ । जामा मस्जिद इदगाह सञ्चालक समिति बाँकेको आयोजनामा निकालिएको र्यालीमा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शान्ति र सद्भाव कायम गर्दै हजरत मोहम्मदको जन्मजयन्ती मनाएकोमा मुस्लिम समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो । “शान्त र सद्भावपूर्ण तरिकाले इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मदको १५०१औँ जन्मजयन्ती मनाउन सफल हुनुभएकोमा सम्पूर्ण मुस्लिम समुदायलाई धन्यवाद ज्ञापन गर्दछु । जन्मजयन्तीका अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” उहाँले भन्नुभयो ।
बाँके क्षेत्र नं. २ का सङ्घीय सांसद इस्तियाक मोहम्मद राईले हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै समाजमा आपसी भाइचाराको सम्बन्ध कायम राख्न र नेपालगञ्न शहरलाई हिन्दु मुस्लिम समूदाय मिलेर सदभावको शहरको रुपमा चिनाई राख्न सबैको भूमिका अपरिहार्य रहेको बताउँदै सबैलाई आपसी समझदारी कायम राख्न आग्रह गर्नुभयो ।
“हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । समाजमा आपसी भाइचाराको सम्बन्ध कायम राख्दै शान्ति र सद्भावको वातावरण बनाउने हामी सबैको दायित्व हो । त्यसैले यो शहरलाई सदभावको शहरका रुपमा हामीले नै पुस्तौंपुस्ता चिनाई राख्नु पर्छ र यो हामी सबैको दायित्व पनि भएको हुनाले यस्लाई हामी सबैले आफ्नो जिम्मेवारीका रुपमा पुरा गर्न म सबैलाई आग्रह गर्दछु ।” उहाँले भन्नुभयो ।
सांसद राईले समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच आपसी सहयोग, सहकार्य र भाइचाराको भावना आवश्यक रहेको बताउनुभयो । हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा सांसद राईले मंगलबार नेपालगञ्जमा नागरिक अगुवा तथा हरित अभियन्तासँग सहकार्य गरी वर र पीपलका बिरुवासमेत रोप्नुभएको थियो । धार्मिक पर्वलाई सामाजिक सद्भावसँगै वातावरण संरक्षणको अभियानसँग जोड्ने उद्देश्यले बिरुवा रोपिएको उहाँको भनाइ थियो ।
बुधबार निकालिएको र्यालीमा सहभागीहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै जन्मजयन्ती मनाएका थिए । जामा मस्जिदबाट निकालिएको र्याली नेपालगञ्जको बीपीचोक हुँदै धम्बौझी पुगेर सम्पन्न भएको थियो । र्यालीका क्रममा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिले शान्तिको प्रतीक मानिने परेवाका जोडी उडाएका थिए ।






