बाँके, ४ भदौः नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको नयाँ नेतृत्व चयनका लागि भदौ ६ गते निर्वाचन हुन गइरहेको छ । निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा प्रजातान्त्रिक र समावेशीको संयुक्त प्यानलले आज आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमार्फत संयुक्त प्यानलका प्रतिबद्धताहरू प्यानलका संयोजक ललितकुमार रौनियारले पढेर सार्वजनिक गर्नुभएको थियो । घोषणापत्रमा उद्योगी व्यवसायीको साझा संस्था नेपालगन्ज उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सदस्यता प्रणालीलाई व्यवस्थित बनाउने, उद्योगमैत्री वातावरण निर्माणका लागि तीन वर्षभित्र औद्योगिक क्षेत्र स्थापनाको पहल गर्ने तथा नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनका लागि पहल गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
संयुक्त प्यानलले नेपाल भारत सीमावर्ती क्षेत्रका समस्या समाधानका लागि भारतीय पक्षसँग नियमित समन्वय गर्ने, सीमा नाकाको पूर्वाधार सुधार, भन्सार प्रणालीको आधुनिकीकरण, गोदाम, पार्किङ र कन्टेनर व्यवस्थापनमा पहल गर्ने जनाएको छ । अवैध आयात नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
उक्त पत्रकार सम्मेलनमा संयुक्त प्यानलका अध्यक्ष पदका प्रत्यासी चिरिञ्जीवी ओलीले पारवहनलाई व्यवस्थित गर्न र अत्यन्तै सस्तो दरमा सामान ढुवानी गर्नका सुख्खा बन्दरगाहलाई स्थापना गर्ने बताउनुभयो । व्यावसायीलाई दश प्रतिशत घरभाडा रकम तिर्नका लागी बाध्यात्मक अवस्थाको अन्त्य गर्नका लागी उहाँले १७ नम्बर व्यवसायी मैत्री नीति र कानुनमा जोड दिनका लागी स्थानीय सरकारको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।
उहाँका अनुसार यस विषयमा कर, राजस्व, भन्सार,उद्योग, बैकिंग, पर्यटन सम्बन्धि व्यावसायमा निरन्तरता दिन र कानून निमार्णका लागी सरकारलाई सुझाव दिन तिनै तहका सरकारसंग समन्वय र सहकार्य गरिने जानकारी दिनुभयो ।
घोषणापत्रमा स्टार्टअप र महिला तथा युवा उद्यमशीलता प्रवर्द्धन, कृषिउपजको ब्रान्डिङ र बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापार मेला तथा औद्योगिक प्रदर्शनी आयोजना, बैंक तथा वित्तीय संस्थासँग सहकार्य, व्यवसायीका लागि सामूहिक बिमा योजनाको निरन्तरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।






