बाँके ८ भदौः जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रियता, आत्मविश्वास तथा मनोसामाजिक सुस्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना हुँदै आएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आगामी २०८३ भदौ २१ गते सञ्चालन हुने भएको छ ।
दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको आयोजना तथा नाट्टा बाँके च्याप्टरको सह–आयोजनामा हुन लागेको कार्यक्रमका लागि आइतबारदेखि सहभागिता दर्ता खुला गरिएको छ ।
कार्यक्रममा सहभागी हुन कुनै शुल्क तिर्नुपर्ने छैन । कार्यक्रमको रणनीतिक साझेदारका रूपमा धारा नेपालगन्ज म्याराथनले प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ ।
आयोजकले कार्यक्रमलाई सामान्य दौड प्रतियोगिताभन्दा माथि उठाउँदै जेष्ठ महिलाको शारीरिक सक्रियता, सामाजिक सहभागिता, आत्मविश्वास र मनोसामाजिक खुसी अभिवृद्धि गर्ने अभियानका रूपमा विकास गर्न खोजिएको जनाएको छ ।
दौड सुरु हुनुअघि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । शिविरमा सहभागी जेष्ठ महिलालाई स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारको सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
यसअघि भएको पहिलो संस्करणमा ५० वर्षभन्दा माथिका एक सय ५० भन्दा बढी हजुरआमाको सहभागिता रहेको थियो । सो प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँबस्ती थपुवाकी ५५ वर्षीया धनसरा बुढा प्रथम, नन्दमाया वली द्वितीय र नेपालगञ्जकी रेवती सिंह तृतीय हुनु भएको थियो ।
पहिलो संस्करणमा देखिएको हजुरआमाहरूको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ ।
सोही अनुभवका आधारमा यस वर्ष कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी ‘भन्छिन् हजुरआमा’ नामक अन्तरपुस्ता संवादसमेत आयोजना गरिने भएको छ ।
संवादमा ५० वर्ष उमेर पार गरेका हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी छोरीबीच प्रत्यक्ष अन्तरक्रिया हुनेछ । हजुरआमाले आफ्ना जीवनका संघर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ नयाँ पुस्तासँग साझा गर्नेछन् ।
नयाँ पुस्ताले हजुरआमाका अनुभव सुन्ने, बुझ्ने तथा संवादमार्फत पुस्ताबीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाउने अवसर पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार पुस्तान्तरणलाई सम्पत्ति वा ज्ञान हस्तान्तरणमा मात्र सीमित गर्न नहुने र जीवनका अनुभव तथा भावनाको हस्तान्तरण पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले संवाद कार्यक्रम राखिएको हो ।
हजुरआमाका जीवनकथा र अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउँदै परिवार, समाज र इतिहाससँग जोड्ने तथा पुस्ताबीच देखिने भावनात्मक दूरी कम गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
द गोल्डेन ग्रान्डमाकी संयोजक सजल गैरेले अभियानलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सामाजिक सहभागिता, आत्मविश्वास र अन्तरपुस्ता सम्बन्धसँग जोडिएको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी हुन हजुरआमा, नयाँ पुस्ताका छोरी, परिवार, विद्यालय, सामाजिक संघसंस्था, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकलाई आयोजकले आग्रह गरेको छ ।
आयोजकले ‘दौडिन्छिन् हजुरआमा’लाई दौड प्रतियोगितामा मात्र सीमित नराखी हजुरआमाको सम्मान, स्वस्थ बुढ्यौलीको प्रवद्र्धन र पुस्ताबीचको सम्बन्धलाई आत्मीय बनाउने सामाजिक अभियानका रूपमा अघि बढाइएको जनाएको छ ।
कार्यक्रममा ५० वर्ष उमेर पूरा गरेका महिलाबीच दौड प्रतियोगिता हुनेछ । सहभागीले नेपालगञ्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको एक हजार एक मिटर दूरी पार गर्नेछन् । प्रतियोगितामा परिणामभन्दा पनि आफ्नो उमेर र क्षमताप्रति विश्वास जगाउँदै सक्रिय जीवनशैलीको उत्सव मनाउने पक्षलाई प्राथमिकता दिइएको आयोजकको भनाई छ ।






