काठमाण्डौ । अहिले देशैभरी नेपाली काँग्रेसको महाधिवेशनको चर्चा चलिरहेको छ । सभापतिमा देउवा दोहोरीने कुराले पनि नेपाली कांग्रेसको महाधिवेशनलाई चर्चित बनाई रहेको छ । धेरैले युवा पूस्तामा नेतृत्व हस्तान्तरण हुनु पर्छ भन्दै आई रहेका त छन् तर पहिलो पुस्ताले युवाका कुरालाई सुनेको नसुनै गरिरहेका पनि छन् । यसैको एउटा उदाहरण हो पर्साकी ९१ वर्षीया शान्ति कार्की को ।
शान्तिको इच्छा खुला केन्द्रीय सदस्य बन्ने रहेको छ । त्यसकालागी उनी हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्न आएकी थिइन् । उनले भनिन्, नेतृत्व युवामा आउनु पर्छ भन्ने मेरो माग हो, त्यसैले उम्मेरद्धार बन्दैछु । कार्की त्यस्ती प्रतिनिधि हुन्, जुन तराईबाट प्रतिनिधित्व गर्छिन् ।
तर, उम्मेदवारी भने महिला तर्फको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइन् । महाधिवेशन प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा जेठी कार्कीलाई अझै कांग्रेसलाई जनताको पार्टी बनाउने रहर छ । त्यसैले भन्छिन्, ‘कांग्रेसलाई नातावाद, कृपावादबाट माथि उठाउने र पार्टीलाई केन्द्रीयकरण मात्र गर्ने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो ।’
वयोवृद्ध भएर पनि कांग्रेसको नेतृत्वमा युवापुस्ताको हस्तक्षेप हुनैपर्ने बताउने उनी आफ्नो उम्मेदवारी यसैका लागि भएको बताउँछिन् । वृद्ध उमेरमा पनि युवाजोशका साथ महाधिवेशनस्थलमा मत माग्दै हिँडेकी उनले अहिलेसम्म कसैको प्यानलमा नलागेको बताएकी छन् । महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी हो ।






