रुपनी जि एम
बाँके, ४ असाढः बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेलले समस्याग्रस्त बाघ तथा चितुवाको दीर्घकालीन व्यवस्थापनका लागि राज्यले थप स्रोतसाधन र पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनु भएको छ । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत खैरीस्थित टाइगर होल्डिङ केजको अवलोकनका क्रममा वरिष्ठ संरक्षण अधिकृत कँडेलले हाल उक्त केजमा एकवटा पाटेबाघ र दुईवटा चितुवा राखिएको जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो ।
उहाँका अनुसार एक वर्षअघि बाँकेको बालापुर क्षेत्रबाट उद्धार गरिएको पाटेबाघ तथा बर्दियाबाट ल्याइएको एउटा चितुवा र अर्को सानो उमेरको चितुवालाई उक्त केजमा व्यवस्थापन गरी राखिएको छ । “विभिन्न निकुञ्जहरूले यस्ता समस्याग्रस्त वन्यजन्तुलाई टाइगर होल्डिङ केजमा राखेर व्यवस्थापन गर्ने गरेका छन् । यो वन्यजन्तु व्यवस्थापनको एउटा महत्वपूर्ण पाटो हो ।” कँडेलले भन्नुभयो,“अध्ययनहरूले प्राकृतिक बासस्थानमा रहेका कुल बाघमध्ये करिब पाँच प्रतिशतसम्म बाघ विभिन्न कारणले समस्याग्रस्त बन्न सक्ने देखाएका छन् । आपसमा जुध्दा, बुढो हुँदा वा अन्य कारणले यस्ता अवस्था सिर्जना हुन सक्छन् ।”
उहाँका अनुसार होल्डिङ केजमा राखिएका बाघ तथा चितुवालाई नियमित रूपमा आवश्यक आहार उपलब्ध गराइन्छ । “यिनीहरूलाई राँगालगायत अन्य जनावरको मासु खुवाइन्छ। दैनिक खुवाउँदा चारदेखि पाँच किलोसम्म मासु दिइन्छ भने एक दिन छाडेर खुवाउँदा सातदेखि १० किलोसम्म मासु उपलब्ध गराइन्छ ।” उहाँले भन्नुभयो । कँडेलले उद्धार गरिएका वन्यजन्तुको व्यवस्थापन राज्यका लागि चुनौतीपूर्ण र खर्चिलो कार्य भएको उल्लेख गर्दै भन्नुभयो,“यस्ता जनावरहरूको संरक्षण, उपचार, आहार र व्यवस्थापनका लागि सरकारले पर्याप्त स्रोत छुट्याउनुपर्छ । यसले राज्यलाई आर्थिक भार पनि थपेको हुन्छ ।”
उहाँले वन्यजन्तुहरूलाई लामो समयसम्म साँघुरो केजमा राख्नुपर्ने अवस्थालाई आदर्श समाधानका रूपमा लिन नसकिने धारणा व्यक्त गर्नुभयो, “स्वतन्त्र रूपमा जंगलमा विचरण गर्ने जनावरलाई जीवनभर केजमा राख्नु भनेको कुनै अर्थमा आजीवन कारावास जस्तै हो । त्यसैले यसलाई मात्र दीर्घकालीन समाधान मान्न सकिँदैन ।” उहाँले भन्नुभयो ।
समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनलाई पर्यापर्यटनसँग जोड्न सके राज्य र वन्यजन्तु दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ छ । “यस्ता जनावरलाई अलि खुला प्रकृतिको संरचनामा राखेर प्रदर्शन गर्न सकियो भने पर्यटक आकर्षित हुन्छन् । यसबाट राज्यलाई आम्दानी हुन्छ र जनावरले पनि प्राकृतिक वातावरण नजिकको अनुभूति गर्न पाउँछन् । त्यसतर्फ राज्यले थप ध्यान दिन आवश्यक छ,” उहाँले बताउनुभयो ।
यसैबीच, होल्डिङ केजमा रहेका दुईवटा चितुवाको बच्चा र बाघको स्वास्थ्य अवस्था राम्रो रहेको उहाँले जानकारी पनि दिनुभयो । “तीनवटै वन्यजन्तु स्वास्थ्य अवस्था राम्रो छ । कहिलेकाहीँ बारमा ठोक्किँदा वा पञ्जाले फलाममा हान्दा सामान्य घाउ देखिने गरेको छ, तर उपचारपछि ती निको हुने गरेका छन् । समग्रमा यिनीहरू स्वस्थ र सामान्य अवस्थामै छन् ।” उहाँले बताउनुभयो ।






