काठमाण्डौ । नेपाली काँग्रेसको नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापा एक युवा नेता मात्र नभएर उनी कर्मठ, लगनशील, इमानदार, सशक्त र क्षमतावान नेताका रुपमा पनि चिनिंदै आएका छन् । यस प्रकारको उनको छवीले गर्दापनि उनी आफ्नो पार्टीको मात्रै सबै युवहरुले रुचाएको एक युवा नेता बनेका छन् । उनै थापाले काँग्रेस पुनर्जागरण र रुपान्तरणको एउटा यसतो प्रस्ताव ल्याएका छन् जस्ले कांग्रेसको जग नै हल्लाई दिएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सारेका हुन् । ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ थापाले सार्वजनिक गरेको ६१ पृष्ठ लामो प्रस्तावमा आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ ।
थापाले आफ्नो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने पनि स्पष्ट गरेका छन् । कार्यक्रममा बोल्दै थापाले जनतासँग बाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बहाना नरहेको बताए । उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको पनि बताए ।
‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’ पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएकाले जनता निराश भएको बताए ।
थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । काँग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए ।






