काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताएका हुन् ।
२० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ । यस्तै, नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एक पटक फेरि आफूले सभापति भएर काम गर्न चाहेको बताएका छन् । यसका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
यस्तै, कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेकाले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उहाँको भनाइ छ । उनले शक्ति प्रदर्शन गरेर नागरिकलाई दुःख दिने पक्षमा नरहेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताका छन् । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० गते सकिँदैछ ।






