काठमाण्डौ । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई यो समाचार तयार पर्दासम्म थापा अनुपस्थित भएका छन् ।
कार्यक्रमबारे उहाँ (कमल थापा) लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएको छैन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘उहाँ आउनुहुन्न कि जस्तो लाग्यो ।’ लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आ’क्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् । थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् ।
अध्यक्षमा निर्वाचित लिङ्देनले भने थापा विनाको राप्रपा आफूहरुले कल्पना नगरेको बताए । पूर्व अध्यक्षहरु थापासँगै पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीबाट अभिभावकीय मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको भन्दै उनले भने, ‘नेतृत्व परिर्वतनको कुरा गरेको तपाईँहरुलाई राप्रपाबाट बाहिर राखौं भनेको होइन । ड्राइभर परिवर्तन गरौं मात्र भनेको हौं ।’
पार्टीले बोकेको विचारलाई जिवन्त राख्न थापाले देखाएको सक्रियतालाई कहिल्यै अवमूल्यान गर्न नसक्ने उनले बताए । अहिले पनि पार्टीमा थापाको उत्तिकै खाँचो रहेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘आज यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म फेरि पनि विश्वास गर्छु, आगामी दिनमा हामी सँगै हुन्छौं ।’






