काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले यतिबेला सामाजिक सञ्जालै भरी र आफ्ना कार्यकर्ताहरुसंग आफूविरुद्ध ‘निर्मलनिवासले खेलेको’ गुनासो गरिरहेका छन् । राप्रपाको महाधिवेशन शुरु हुनुअघि नै उनले ‘निर्मल निवासले नखेलोस्’ भनेर सचेत गराइसकेका थिए । महाधिवेशनपछि प्रश्न उठेको छ, आखिर राप्रपामा थापालाई निर्मल निवासले खेलेकै हो त ?
राप्रपामा निर्मल निवासले खेलेको विषयमा चर्चा गर्नुअघि राप्रपाको महाधिवेशन शुरु नहुँदै पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेता कमल थापाबीच भने भेटवार्ता भएको थियो । पुर्वराजा ज्ञानेन्द्र शाह र कमल थापाबीच दुरी बढेको पनि सोही भेटवार्तापछि हो भन्ने कुराले पनि यतिबेला बजार तताएको छ ।
स्रोतका अनुसार पूर्वराजा र थापाबीच भएको सो भेट अहिलेसम्म गोप्य नै रहेको छ । केवल राप्रपाका नेताहरुबीच मात्रै सो भेटको गाइँगुइँ हल्ला चलेको थियो । उक्त भेट निकै लामो भएको र राजनीतिक विषयमा केन्द्रित थियो । तथापि सो भेटबारे कमल थापाले औपचारिकरुपमा कसैलाई खुलेर बताउने गरेका छैनन् ।
उच्च स्रोतका अनुसार सो भेटमा पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनतामा आकर्षण बढ्दै गइरहेको भन्दै अब राप्रपाले सडक आन्दोलन र विद्रोहको तयारी गर्नुपर्ने धारणा राखेका थिए । तर, थापाले भने त्यसरी सडकमा जुलुस निकालेर मात्रै राजतन्त्र फर्कन नसक्ने धारणा राखेका थिए । थापाले राखेको उक्त धारणामा नै पुर्वराजाले असन्तुष्टि जनाएका थिए । र सोही असन्तुष्टिकै नतिजा हो कमल थापाको हार पनि ।
नेता थापाले पूर्वराजासमक्ष वर्तमान संविधानको पक्षमा समेत वकालत गरेका थिए । यो संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई अपरिवर्तनीय नभनेको हुनाले राप्रपाले बहुमत ल्याएर संवैधानिक बाटोबाटै राजतन्त्र फर्काउन सकिने थापाले बताएपछि पूर्वराजाले त्यो कहिले हुन्छ ? भन्दै गद्दीमा चाँडै फर्कने चाहना प्रकट गरेका थिए ।
तर, थापाले चाहिँ कसैको व्यक्तिगत इच्छाले मात्रै राजतन्त्र नर्फने, यसका लागि वस्तुगत परिस्थिति तयार हुनुपर्ने बताएका थिए । राप्रपा ठूलो दल बन्यो र काठमाण्डौमा एकलाख मानिस उतार्न सकियो भने बल्ल राजतन्त्र फर्कन सक्ने थापाले अडान राखेका थिए ।
चाँडै राजतन्त्र फर्कन सक्दैन भन्ने थापाको तर्क सुनेपछि पूर्र्वराजा त्यहीँबाट रिसाएको स्रोतले बताएको छ ।
थापाले चाहिँ ज्ञानेन्द्रसँगको भेटपटि आफू निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘उमेरका कारणले हो कि किन हो, राजालाई चाँडो राजगद्दीमा बस्न मन लागेछ, वस्तुगत परिस्थिति नबनेसम्म सडक आन्दोलनबाट राजतन्त्र फर्कन सक्दैन, यसका लागि समय लाग्छ ।’ गणतन्त्र आइसकेपछि पनि पूर्वराजाले पटक–पटक ग द्दीमा फर्कने आशा र अपेक्षा राख्दै आएका छन् ।
यद्यपि भावी राजाका रुपमा हेरिएका पारस साहलाई देखेर मानिसहरु राजतन्त्रप्रति खासै आकर्षित छैनन् । तथापि यस्तो बेलामा पूर्वराजाले राजाबादी पार्टी राप्रपालाई एकतावद्ध बनाउनुपर्ने र शक्ति आर्जन गर्नुपर्नेमा पटक–पटक राप्रपालाई फुटाउने भूमिका खेल्दै आएका छन् । ०७४ को चुनावअघि राप्रपाका तीनवटै समूहबीच एकता भएको थियो ।
तर, राप्रपालाई दरबारले नै फुटाएर कमजोर बनाएको आरोप राप्रपा नेताहरुले लगाउने गरेका छन् । त्यतिमात्र होइन, राप्रपा नेपाललाई समेत दरबारले फुटाउने प्रयास गरेको गुनासो स्वयं कमल थापाले गर्दै आएका छन् । यहीबीचमा अहिले फेरि पूर्वराजाले राप्रपामा कमल थापाविरुद्ध गठबन्धन बनाएर फुटको प्रयास गरेको कमल थापा पक्षको आरोप छ ।
तर, राप्रपालाई बलियो बनाउनुको साटो फुटाउने र एकतावद्ध हुनै नदिने पूर्वराजा ज्ञानेन्द्रको अदुरदर्शिताकै कारण उनको जुनीभरि नै राजतन्त्र नफर्किने संकेत देखिएको थापा निकट नेताहरुले विश्लेषण गर्न थालेका छन् । राप्रपाका एक नेताका अनुसार अहिलेसम्म ज्ञानेन्द्रको पक्षमा लड्दै आएका थापालाई नै सिध्याउने ष ड्य न्त्र पूर्वराजाबाट भएपछि यो भन्दा ठूलो धो का र ग द्दा री अर्को केही हुनै नसक्ने बताईएकोछ । नाम नखुलाउने शर्तमा उनले भने,‘जसका लागि कटेरो बनायो, उसैको पुच्छर बाहिर बनाईदिए राजाले ।’






