काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा यतिबेला अध्यक्ष कमल थापा र सोही पार्टीकी नेतृ रेखा थापाबीच जुहारी चलेको छ । राप्रपाको जारी महाधिवेशनमा अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिएपछि अध्यक्ष थापा र नेतृ थापाबीच जुहारी चलेको हो । महाधिवेशनमा नेतृ थापा राजेन्द्र लिङदेनको प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् ।
वर्तमान अध्यक्ष कमल थापाको विरुद्धको प्यानलमा महामन्त्री बनेकी रेखालाई थापाले पुरानो भिडियो शेयर गर्दै उनलाई गणतन्त्रवादी भन्दै आलोचना गरेका थिए । यता रेखाको विपक्षमा रहेकी अर्की नेता कुन्ताले पनि फिल्म खेलेजस्तो राजनीति सजिलो छैन भन्दै टिप्पणी गरेकी थिइन् । अभिनेत्री रेखा थापाविरुद्ध आएका अभिव्यक्तिप्रति कलाकार दीपकराज गिरीले निकै कडा जवाफ फर्काएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत कडा जवाफ फर्काएका हुन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला कलाकार गिरीले सामाजिक सञ्जालमार्फत रेखा थापाको प्रतिरक्षा गरेका हुन् । गणतन्त्रवादी रेखा थापा कसरी राप्रपा हुन सक्छिन्’ तथा ‘राजनीति फिल्म खेलेजस्तो सजिलो छैन’ भन्ने टिप्पणीविरुद्ध दीपकराज गिरीले जवाफ दिएका हुन् ।
‘कांग्रेस, एमालेमा पनि राजा ल्याउनुपर्छ भन्ने विचार राख्ने मान्छेहरू छन्, अब उनिहरू कांग्रेस वा एमाले हुन वा होइनन्’, गिरीले लेखेका छन्, त्यसै गरेर राप्रपामा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि । ‘न रेखा त्यसमा पर्छिन् कि ?’
यस्तै रेखा थापासँग राप्रपाको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती शाहीले दिएको अभिव्यक्तिविरुद्ध पनि कलाकार गिरीले टिप्पणी गरेका छन् । ‘रेखा थापालाई कुन्ताजीले ‘राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन’ भन्नुभएछ’, गिरीले लेखेका छन्, ‘कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर, एकचोटि ट्राइ गरेर हेर्नुहुन्छ ? क्यामरा अगाडि तपाईंको पसिना छुट्नेछ ।’
उनले अगाडि लेखेका छन्, ‘संसारका सबै काम आआफ्नो ठाउँमा गाह्रै नै हुन्छ, त्यसैले कुनै पेसालाई सजिलो ठान्ने काम नगरौं ।’ गिरीको आ क्रो श अझै म रे को छैन। अगाडि लेखेका छन्, ‘तैंले सक्दैनस्, यो तेरो काम होइन, तेरो अनुभव छैन, यी शब्दहरू तिनले प्रयोग गर्छन्, जो आफैं असक्षम छन् ।’
राप्रपा आफ्नो सिद्धान्त र विचार प्रतिनिधित्व गर्ने पार्टी नभए पनि रेखा थापाले महामन्त्रीजस्तो महत्त्वपूर्ण पदमा उम्मेदवारी दिनु स्वागतयोग्य कुरा भएको गिरीले उल्लेख गरेका छन् । साथै उनले जितका लागि थापालाई शुभकामना पनि दिएका छन् ।






