काठमाण्डौ । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २।४१ जीपीए आएको छ ।’
गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् । ‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज) मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’
किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् । यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् ।
योपनि पढौं
प्रविधिमा आधारित शिक्षा आदानप्रदानमा सहकार्य गर्न नेपालसँग जर्मनी इच्छुक
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा। थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।
भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनीबीच १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुले यता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरेका थिए ।

मन्त्री पौडेलले नेपालमा संघीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवम् समतामूलक ढंगबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराए ।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गरेका थिए । जर्मनका राजदूत प्रिन्जले नेपालका विद्यार्थीहरूले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताए ।






