काठमाण्डौ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाबादको यात्रा सुरु गर्न देशमा माओबादीको विकल्प नरहेको बताएका छन् । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजबादको यात्रा सुरु गर्न देशमा माओबादीको विकल्प नरहेको बताएका हुन् ।
उनले माओबादी कम्जोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओबादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए । अध्यक्ष दाहालले हिजो बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको अध्यक्ष दाहालले बताए ।
अध्यक्ष प्रचण्डले नेपालमा परिवर्तनको रक्षाका लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उ त्पी डि त वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे । उनले भने,‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनका लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्याउने, समाजबादको यात्रा सुरु गर्नका निम्ति पनि माओबादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ।
मानिसहरूलाई कहिलेकाहीँ भ्र म पर्छ, अरूले पनि गर्छन् कि भनेको जस्तो, जो हिजो गणतन्त्रकाविरुद्ध लागे ती अहिले पनि गणतन्त्रविरोधी नै छन्, जो हिजो सङ्घीयताको विरुद्ध लागे त्यो अहिले पनि सङ्घीयताका विरुद्धै छन्, महिलालाई धेरै अधिकार दिनु हुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । दलितहरूलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् ।
यो सबै चिज माओबादी आन्दोलनकै परिणाम भएको हुनाले माओबादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धि बच्छन् पनि, तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ । माओबादी कमजोर भयो भने हामीले देख्यौँ नि कति छिटो, अलिकति माओबादी विभाजन भएको देख्दा, माओबादी सङ्गठन भएको कि भन्ने लागेपछि त संविधान नै मिच्ने, च्यात्नेसम्म भयो ।
जहाँ समावेशी, समानुपातिक छ त्यसलाई हटाउने, गणतन्त्रै उल्ट्याउन खोज्ने, हिजो मात्रै राप्रपाको अधिवेशनमा एउटा आफूलाई पुरानो कम्युनिस्ट भन्ने मान्छे त पूरै राजाको प्रशंसा गरेर राप्रपा मात्रै देशभक्त भनेकोजस्तो गरे, मैले उनलाई तिमी त राप्रपाको अध्यक्ष हुने तयारी गरेछौ भने, यस्ता पनि कम्युनिस्ट छन्, नाम कम्युनिस्ट छ, काम सामन्तीको जस्तो गर्छन् । त्यस कारण माओबादीलाई बलियो बनाउनुको कुनै विकल्प नेपालमा छैन ।’
अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेन्डा भनेको माओबादीकै एजेन्डा भएको बताउँदै केही समय काठमाण्डौ केन्द्रित भएर नेताहरूको काम गर्दा घाइते, अपाङ्ग र शहीदहरूप्रतिका एजेन्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता जनाए । उनले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, नागरिक र उनीहरूको मुक्ति आन्दोलनलाई निष्कर्षमा पुर्याउने कुरा नागरिक समक्ष प्रस्तुत गर्न नेता, कार्यकर्तालाई आग्रह पनि गरे ।






