काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसके राजनीतिक दलहरु सकिने बताएका छन् । भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले जनताको भावनालाई ठीक ढंगले आत्मसात् गरेर अघि बढ्न सुझाव दिंदै उक्त कुरा बताएका हुन् ।
नेता नेपालले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने हने भने दलहरू सकिने कुरालाई जोड दिंदै आफूहरु परिवर्तनकामी रहेको भन्दै परिवर्तनलाई कसैले पनि रोक्न नसक्ने बताए ।
उनले नेपालका राजनीतिक दलहरूमा राष्ट्रियता, लोकतन्त्र र सामाजिक परिवर्तन तथा सामाजिक न्याय र समानताका विषयहरू ब्राण्ड बनेर रहेको बताए । ‘जसले यी ब्राण्डमा काम गरेका छन् । जसले यी एजेन्डा बोकेका छन्, ती राजनीतिकहरूले समाजमा प्रभाव राखेका छन्,’ उनले भने ।
राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । नेपाल हिन्दु र बौद्धधर्मको उद्गमथलो रहेको भन्दै उनले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिए ।






