काठमाण्डौ । न्यायालय शुद्धीकरणको विषयलाई लिएर सर्वोच्च अदालतमा दुई सातादेखि जारी आन्दोलनका कारण जिल्ला न्यायाधीशहरूको सरुवा प्रभावित बनेको छ । अघिल्लो वर्ष साउन महिनामै भएको जिल्ला न्यायाधीशहरूको सरुवा यस वर्ष कात्तिक सकिन लाग्दा पनि हुन सकेको छैन ।
सामान्यतः दुर्गम तथा हिमाली जिल्लाका न्यायाधीशहरूको सरुवा एक वर्षमा र अन्य जिल्लाका न्यायाधीशहरूको सरुवा दुई–दुई वर्षमा हुने गर्दछ । तर न्यायालयमा भएको गतिरोधका कारण कतिपय जिल्लामा तीन वर्ष काम गरिसकेका न्यायाधीशको पनि सरुवा हुन सकेको छैन ।
साउनमा हुनुपर्ने सरुवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकै कारण समयमै हुन नसकेको र अहिले न्यायालयमा देखिएको गतिरोधका कारण सरुवा रोकिएको एक जिल्ला न्यायाधीशले बताए । न्यायाधीशहरूको सरुवा प्रभावित हुँदा एकै स्थानमा लामो समयसम्म रहेर न्यायाधीशहरूले काम गर्नुपर्ने भएको छ ।
जसका कारण एकातिर दुर्गम र हिमाली जिल्लामा रहेका न्यायाधीशहरूलाई मर्का परेको छ भने अदालतमा बेथितिको सुरुवात हुने चिन्ता पनि बढेको छ । एक जिल्ला न्यायाधीशका अनुसार न्यायाधीश एकै स्थानमा लामो समयसम्म रहँदा सम्पर्क बढ्ने र त्यसपछि प्रभावकै कारण न्यायमा कमी आउनसक्ने ख त रा पनि रहन्छ । तर पनि जिल्ला न्यायाधीशहरूको सरुवा हुन सकेको छैन ।






