काठमाण्डौ । नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो ।
राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेकोे छ । “आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं”, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, “पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनु्भएको छ ।”
उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीन वटा मेसिनबाट नमूना मतदान गराइने उनले जानकारी दिए । एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन ।
यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ । निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए । विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ ।
एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ । एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५÷१५ जना गरी कुल २५५ पदका लागि निर्वाचन हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए । “जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान छ”, उनले भने, “सोही अनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।” रासस






