सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पदावधि सकिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पदावधि सकिएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिँदा फ्लोर क्रस गरेर मन्त्री भएका तीनै जनाको पदावधि सकिएको हो । विश्वासको मत दिएकै भोलिपल्ट मुख्यमन्त्री शाहीले ४ वैशाख तीन जनलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री भएपछि एमालेले सांसद पदबाट मुक्त भएका थिए ।
गैरसांसद मन्त्री हुन नपाउने व्यवस्थाअनुसार छ महिना पुगेका कारण सोमबार स्वतः पद मुक्त भएका हुन् । एमालेले पदमुक्त गरेपछि उनीहरू १५ वैशाखदेखि गैरसांसदका रूपमा रहेका थिए । पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता हुन् । तीन जना मन्त्री पदमुक्त भएपछि एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ ।






