काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रालय भा ग व ण्डामै वि वा द भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको हो । स्रोतका अनुसार अब शुक्रबार (भोली) मात्रै मन्त्रिपरिषद विस्तार हुनेछ ।
सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
‘आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ’, स्रोतले रातोपाटीलाई भन्यो, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।
बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी बैठकमा सहभागी हुन निस्केका छन् । नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी छ । समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागबण्डा गरिएपनि थप एक मन्त्री पाउनुपर्ने जनाएको छ ।






