काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरूको बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको बैठक बसेको हो ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा अलग अलग बैठक बसेका थिए ।
काँग्रेस पदाधिकारी बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस पार्टीबाट मन्त्रीहरूको नाम सिफारिस गर्न पदाधिकारी बैठकले काँग्रेसको भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरूको नाम सिफारिस गर्न छलफल भएको बताए ।
काँग्रेसबाट गृह, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्यमा यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् । भागबण्डामा परेका अन्य मन्त्रालयमा मन्त्रीहरू पठाउन पदाधिकारी बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्री देउवाले पार्टीभित्र आन्तरिक छलफल गरेर मात्र मन्त्री छनोटको तयारी गर्नुभएको छ । बुधबार बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने तीन जना मन्त्री तथा एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ ।
बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजङ्ग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्री बन्ने नाम टुङ्गो लगाए पनि कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा बैठकले केही पनि निर्णय नगरेको बताए ।
जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफू सरकारमा नजाने जानकारी गराएका थिए । बैठकमा सरकारमा मन्त्री बन्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने निर्णय भएको पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।
बैठकमा समावेशी, क्षेत्र, भूगोल, लिङ्ग, पार्टीमा योगदानलगायतका विषयलाई ध्यान दिएर नाम छनोट गर्न बैठकले सुझाव दिएको छ । पार्टीका प्रवक्ता डम्बर खतिवडाले बुधबारको बैठकमा मन्त्रीको नाम चयन गर्ने विषयमा व्यापक छलफल भए पनि बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने
जानकारी दिएका छन् ।
प्रवक्ता खतिवडाले भने,“सबै पार्टीका मन्त्रीहरूको शपथ एकै पटक गर्ने भन्ने भएको छ । नेकपा ९एकीकृत समाजवादी०को बिहीबार स्थायी कमिटीको बैठक बस्ने र सोही बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाउने नेता जगन्नाथ खतिवडाले बताए ।






