काठमाण्डौ । नेकपा माओवादी केन्द्रको अति गोप्य दस्तावेज सार्वजनिक भएपछि पार्टीमा खैलाबैला भएको छ । दस्तावेज कसले सार्वजनिक गर्यो भन्ने कुराको खोजी थालिएको छ । माओवादले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ ।
विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको थियो । त्यो सूची पार्टीले अन्तिम रुप नदिदै सार्वजनिक भएको हो । सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले सूची तयार पारेर पार्टीलाई बुझाएका थिए ।
तर पार्टीमा छलफल नहुँदै र अन्तिम रुप नदिदै सूची सार्वजनिक भएपछि पार्टीमा खैलाबैला भएको हो । सूचीमा नाम भएकाहरु कतिपय माओवादीमा खुलेर नलागेकाहरु पनि छन् । विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले विदेश विभागमा रहनसक्ने नामहरू प्राप्त गरेपछि प्रस्ताव अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई दिएको थियो । सोही प्रस्ताव कार्यदलका कुनै सदस्य या स्थायी कमिटी सदस्यमार्फत मिडियामा बाहिरिएको हुनसक्ने माओवादीका नेताहरु बताउँछन् । माओवादीले तयार पारेको सूचीअनुसार यसअघि राजदूत भइसकेका लीलामणि पौडेल, डा महेश मास्के, लक्की शेर्पा समेत समेटिएका छन् ।
सूचीमा नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको तत्कालीन विदेश विभागमा रहेका युवराज चौलागाईं, डा ऋषि अधिकारी, रुपक सापकोटा, युगनाथ लम्साल, प्रा अमन श्रेष्ठ, सुनील पौडेल, प्रदीप परियार, नन्द कुमार थापा, टासी लामा, मातृका पौडेल र प्रमोद जैशवाललाई पनि स्वतः समेटिएको छ ।
यसैगरी राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह, जोखबहादुर महरा, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ, ओम शर्मा, विमल अधिकारीलगायतको नाम पनि प्रस्तावमा समेटिएको छ ।






