जनकपुरधाम । प्रदेश २ सभाको अहिले सातौ अधिवेशन सुरु भएको छ । सो सभामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सरकारले विश्वासको मत लिइदैछ । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सातौ अधिबेशन आह्वान गरेका थिए ।
प्रदेश २ सरकारमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सहभागी छन भने माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले (एकीकृत समाजवादी) समेतले सरकारलाई समर्थन जनाइसकेको छ । यसले गर्दा सरकार स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित छ ।
प्रदेश सभामा कूल १०४ सभा सदस्यमध्ये जनता समाजवादी पार्टीका ३९, नेपाली काँग्रेस पार्टीका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का १३, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका आठ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सभा सदस्य छन ।
प्रदेश सभामा प्रत्यक्षबाट पुरुष ५७, महिला चार गरी ६१ र समानुपातिकबाट पुरुष १० र महिला ३३ गरी ४३ जना निर्वाचित भएका हुन । प्रदेश सभामा सात वटा संसदीय दलहरु छन । सो सभामा विषेश सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा सरकारलाई बदनाम गराउन गरेको बताएका छन् ।
मुख्यमन्त्री राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमितता नभएको दाबी गर्नुभएको छ । प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले साइकल खरिद प्रक्रिया र कम्पनीको नाम समेत सार्वजनिक गरेका छन् ।
सभामा शुभकामना दिदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जितेन्द्रकुमार सोनार सोनलले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दैमा संघीयता समाप्त नहुने बताए । उनले भने,अख्तियारको योगदानबाट संघीयता आएको होइन, दर्जनौ मधेसी, दलित, महिला, मुम्स्लिमको बलिदानबाट संघीयता आएको हो ।
उनले प्रदेशको स्थायी नाम र राजधानी अबिलम्ब टुग्याउन सुझाव पनि दिए । यसैगरी, नेकपा (एकीकृत समाजवादी) का सभा सदस्य शत्रुघन महतोले सरकारमा कुन–कुन पार्टी सहभागी छन भन्ने कुरा मलाई थाहा छैन । यसअघि पनि कुन–कुन पार्टी थियो त्योपनि विर्सिसकेको छु ।
सरकारले किनेको बसतर्फ संकेत गर्दै उनले पहिले सामान किन्ने त्यसपछि त्यसको सञ्चालनको लागि कानून बनाउने गरेको छ । उनले चाडै प्रदेशको नाम र राजधानी टुङग्याउन आग्रह गरे । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रदेशको गौरब भएको बताउँदै उनले यस अभियान अन्तर्गत धेरै विद्यालयमा साइकल वितरण भएको छ भने धेरैमा बाँकी रहेको बताए ।
साइकल वितरणमा सम्बन्धीत क्षेत्रका सभा सदस्यको सलग्नतामा गराउन सकिएमा सबैको अपनत्व भइ जिम्मेवारी बो ध हुने सुझाव दिए । जो जुन पार्टीमा जहा बसेपनि प्रदेशको समृद्धिमा एक भएर लाग्न उनले सबैलाई आग्रह समेत गरे ।






