काठमाण्डौ । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत हालसम्म लुम्बिनी प्रदेशमा भएको पालिकास्तरको अधिवेशनमा एक जनामात्र महिला सभापति चुनिएकी छन् ।
पाल्पाको पूर्व खोला गाउँपालिका–३ निवासी ५० वर्षीया बिष्णुकुमारी आचार्यलाई गत सम्पन्न पालिका अधिवेशनले सर्वसम्मत रुपमा पालिका सभापतिमा निर्वाचित गरेको हो ।
उपसभापतिमा मेघराज न्यौपाने र दुर्गाबहादुर थापालाई निर्वाचित गरेको छ । नवनिर्वाचित सभापति आचार्यका अनुसार अधिवेशनले सचिवद्वयमा भुपाल पंगेनी र ऋषिराम ढेंगालाई चयन गरेको छ ।
सह–सचिवद्धयमा जगत सिंह हिस्की र नवराज श्रेष्ठलाई चयन गरिएको छ भने १८ सदस्यीय निर्वाचित कार्य समितिले कोषाध्यक्षमा अमरसिंह रानालाई मनोनित समेत गरि सकेको छ ।
शिक्षक संघबाट संगठित भएकी आचार्यले गत वर्ष पूर्व खोला गाउँ कार्य समितिका सभापति कृष्णप्रसाद आचार्य बाहिर गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी थिइन् ।
अहिले भने अधिवेशनबाटै उनले सभापतिको जिम्मेवारी पाएकी हुन् । तीन छोरी र एक छोराकी आमा आचार्यले घरको जिम्मेवारीभन्दा बढी पार्टीको जिम्मेवारी लिने र अहिले नेपाली काँग्रेस पूर्व खोलामा कमजोर रहेको पार्टी संगठनलाई मजबुत बनाउने लक्ष्य बनाएकी छन् ।
ट्रेड युनियन काँग्रेस पूर्वखोलाको उपसभापति समेत रहेकी आचार्य अब पार्टी सभापतिको जिम्मेवारी पुरुषले भन्दा अझ सशक्त ढंगले महिलाले निभाउन सक्ने उदाहरण दिने बताउँछिन् ।






