काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आरोप भएको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरुद्ध षड्यन्त्र गर्ने लगायतका काम गरेको आरोप लगाए । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो छ ।
‘मैले माधव नेपाललाई भेटौँ भन्दा भेट्दिनँ भने, कम्तीमा दुई वर्ष भयो होला माधव नेपालले फोन गरेका छैनन्, मैले लगातार फोन गरिरहेको छु, कुरा गरिरहेको छु, उहाँले म बालुवाटार आउँदिन भन्दा म आफैँ ठाउँ–ठाउँका होटलमा गएर भेटेँ’, ओलीले भने ।
कार्यक्रममा ओलीले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा, सरकारको नेतृत्वमा रहँदा पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको लगायतका आरोप पनि लगाए ।
ओलीले भने, “यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नु पर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरी पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्न्स् ।”
अध्यक्ष ओलीले आफूहरु सत्तापक्षमै रहेको दाबी गर्दै भने, “प्रदेश र स्थानीय तहमा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र स्थानीय तहमा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ ।”






