काठमाण्डौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छोडेकी हुन् । त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए ।
पौडेलको राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरियो । बुधबारै पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए । उनको राजीनामापछि शाक्य मुख्यमन्त्री बनेकी छन् ।
शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनलाई नेकपा ९एमाले० संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनि मुख्यमन्त्री बन्न सफल भएकी हुन् ।
नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।
एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शाक्य मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा गएकी थिइन् । तर पार्टी नेतृत्व उनलाई मुख्यमन्त्री बनाउन तयार भएन । २६ माघ २०७४ मा दल नेता चयनका लागि भएको चुनावमा उनी डोरमणि पौडेलसँग पराजित भईन् । आफूलाई मुख्यमन्त्री हुन नदिने राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागेको भन्दै उनले सार्वजनिक मञ्चहरुबाटै भन्ने गरेकी थिइन् ।
एमाले र माओवादी केन्द्रको एकता गरेर नेकपा बन्दा र नेकपाको एकता खारेज गरेर एमाले पुनर्थापित हुँदा पनि उनी नेतृत्वको खरो आलोचक बनिन् । माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उनले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने नेता नेपालको कदममा साथ दिइनन् ।
पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप शाक्यलाई मुख्यमन्त्री बनाएको निर्वतमान मुख्यमन्त्री पौडेलले पनि बताएका छन् । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उनले भने, उहाँ (अष्टलक्ष्मी) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’
शाक्यले भने आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो ।’ उनले भनिन् । एमालेका उपाध्यक्ष शाक्य विसं २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।
काठमाडौँ शहरको नेवार समुदायमा जन्मिएर कम्युनिष्ट राजनीतिमा होमिएकी उनको धैरे समय राजनीतिमै बितेको छ । विसं २०५६ मा काठमाडौँबाट सांसद बनेकी उनि दोस्रो संविधानसभामा सदस्यसमेत भैईन । उनले पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीमा सफलतापूर्वक निर्वाह गरेकी छन् ।






