काठमाण्डौ । एमालेबाट बिभाजित भएर नयाँ दल दर्ता गराउन हिंडेका माधवकुमार नेपाललाई उनकै पार्टीकी नेतृ राम कुमारी झात्रिले सबै सामुन्नेबाट हात समातेर तान्दै आफैसंग लिएर गईन् । राम कुमारीले नेता नेपालको हात समातेको फोटोले यतिबेला सामाजिक सञ्जालमा निकै नै चर्चा पाएको छ ।
बुधबार नेता नेपालले नयाँ नेताहरुलाई लिएर नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । आफूलाई वर्षौदेखि साथ दिएका पुराना नेताहरु अष्टलक्ष्मी शाक्य, भीम रावलदेखि रघुजी पन्त पनि नेता नेपालले गठन गरेको एमाले समाजवादी पार्टीमा छैनन् । शाक्य वागमती प्रदेशको मुख्य मन्त्री बनिन् । उनी मुख्यमन्त्री बनेपछि ओली निकट नै भइन ।
९५ जना केन्द्रीय सदस्य रहेको एमाले समाजवादीको अध्यक्षमा नेपालको नाम छ । दोस्रोमा झलनाथ खनालको नाम छ । तेस्रो वरीयतामा भने मुकुन्द न्यौपाने छन् । एमालेमा हुँदा नेपाल पक्षमा १३ जना स्थायी कमिटीका नेताहरु थिए । नयाँ बनेको पार्टीमा खनाल, न्यौपाने र बेदुराम भुसाल गरी ३ जना मात्र पुराना स्थायी कमिटी सदस्य छन् ।
एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुसाल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने नेपाल पक्षका हुन् ।
अहिले पाण्डे र आचार्य खनालसँगै नयाँ दिल्ली छन् । नयाँ दल दर्ता गरिएको नेकपा एमाले समाजवादी पार्टीमा पुराना नेताहरु भन्दा नयाँ नेताहरुै बर्चस्व देखिन्छ ।
अनौठो कुरा त के भने, विशेषगरी ओली(नेपाल दुश्मनीका सुरुवाती दिनदेखि नै नेपालसँगै उठबस गर्दैआएका अधिकांश नेताहरु माधव नेपाल नयाँ पार्टी दर्ता गर्न जाँदा छेउछाउ देखिएनन् । नेपालसँग औँलामा गन्नमिल्ने केही नेताहरु बाहेक सुरुवातदेखि जोडिएका कुनै पनि नेता नेपालको साथमा थिएनन् ।
एक दिनअघिसम्म नेपालसँगै रहेका उपाध्यक्ष ज्ञवालीले पनि नयाँ दलका लागि नेपाललाई साथ दिएनन् । एमालेमा आफूसँगै रहेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेपालको साथ छाडे ।
शाक्य त नेपालले एमाले समाजवादी दर्ता गरिरहँदा हेटौँडामा डोरमणि पौडेलको प्रस्तावमा मुख्यमन्त्री नै बनिन् । यस्तै उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यले समेत नेपालको साथ अन्तिम अवधिमा आएर छाडे । गोकर्ण विष्टले त फेसबुकमा स्टाटस लेखेरै विधेयकको विरोध गर्न आह्वान गरेका छन् ।
यस्तै ओलीसँगको झगडामा नेपालका सारथी बनेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले पनि नयाँ पार्टीका लागि रुची देखाएनन् । यतिसम्म कि विवाद समाधानका लागि बनेको नेपाल पक्षीय कार्यदलका नेताहरु समेत अहिले उनको साथमा छैनन् ।
ओलीसँग विवाद मिलाउन सुरुका दिनदेखि नै भीम रावल, सुरेन्द्र पाण्डे लगायत नेताहरु अग्रसर थिए । तर उनीहरु नै अहिले तटस्थ बसिदिएका छन् । अहिले नेता नेपालको साथमा झलनाथ खनाल सहित बेदुराम भुसाल, राजेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, मेटमणि चौधरी लगायत नेताहरु साथमा छन् ।
त्यसो त एमालेका उपाध्यक्ष तथा प्रभावशाली नेता वामदेव गौतम स्वयं तत्कालीन नेकपा छँदा माधव नेपालकै पक्षमा थिए । नेता गौतम नै एक त्यस्ता नेता थिए जसले ओलीविरुद्ध आरोप सहितको विवाद नेकपामा भित्र्याएका थिए । ओलीमाथि गौतमका प्रश्नकै आधारमा प्रचण्डले समेत ओलीविरुद्ध अभियान नै छेडेका थिए ।
जुन विवादले ठूलो रुप लिँदै जाँदा ओली एकातिर भए भने माधव, दाहाल र गौतम एकै समूहमा ध्रुवीकृत बन्न पुगेका थिए । ओली तत्कालीन नेकपामा एक्लै बन्न पुगे । र संसद नै विघटन गरिदिए । सर्वोच अदालतको फैसलासँगै दाहाल पूर्ववत माओवादीमा पुगे । तर गौतमले नेपालको साथ छाडेर ओलीसँग नजिकिए । उनले सार्वजनिक रुपमै ओलीलाई साथ दिने घोषणा गरे ।






