काठमाडौ । माधव नेपालले नेतृत्व गरेको नवगठित नेकपा एमाले समाजवादी पार्टीले राखेको चुनाव चिह्न जुधेको छ । उन्नत लोकतान्त्रिक पार्टीले एमाले समाजवादी पार्टीले प्रस्ताव गरेको चुनाव चिह्न खुला किताब आफ्नो पार्टीको भएको दाबी गरेको छ । अध्यक्ष स्वागत नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव चिह्नबारे पुनर्विचार नगरे कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।
‘‘निर्वाचन आयोगमा फाइल दर्ता गरी प्रमाण पत्र लिन मात्र बाँकी रहेको अवस्थामा सो पार्टीले हाम्रो चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको र निर्वाचन आयोगले प्रदान गर्ने निर्णय गर्न लागेको भए हामी कानुनी प्रक्रियामा जाने जानकारी गराउँदै उक्त पार्टीलाई निर्वाचन चिह्नबारे पुनर्विचार गर्न आग्रह गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
यस्तै एमाले बिभाजन गर्ने माधव नेपालकोनिर्णयप्रति आपत्ति जनाउँदै साथ छोडेका उपमहासचिव घनश्याम भुसाल अध्यक्ष केपी शर्मा ओली भेटन बालकोट पुगेका थिए । नेकपा एमाले विभाजन भएलगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका भुसाल नेपालले नयाँ पार्टी दर्ता गरेपछिको अवस्थाबारे छलफल गर्न अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।
अध्यक्ष ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको निकट स्रोतले जनाएको छ । एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरुको तर्फबाट भुसालले ओलीसँग १० बुँदे सहमति कार्यन्यवयन गर्दै बलियो एमाले बनाउन आग्रह गर्न उनि पुगेका थिए ।
नवौं महाधिवेशनदेखि माधव नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनमा भने साथ दिएनन् । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्ने प्रष्ट पारेपछि उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भुसालसहितका सवै पदाधिकारीहरुले माधवको साथ छोडेका थिए ।






