काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दबाब दिएको छ । मङ्गलबार काठमाण्डौको नयाँ बानेश्वरमा रहेको एक होटलमा बसेको नेपाल पक्षका नेताहरूको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णय तत्काल फिर्ता नलिए आफूहरू जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, ‘हामी २२ जना सांसदले भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले दुई सय ६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भयो ।
हाम्रा लागि अध्यादेश आएको होइन, हामी त ३० ४० प्रतिशत नै छौँ, बरु महन्थ ठाकुरजीहरूका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला ? केपी ओलीले जालझेल गरेर गरेका निर्णय फिर्ता नलिए आवश्यकताले अघि बढ्छौँ, केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौँ ।’






