काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ता गर्ने प्रकृया सुरु गरेपछि तटस्थ बसेका नेताहरु पनि नेपालकै पक्षमा जाने भएका छन् । एमाले एकता अभियान संचालन गरेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पनि वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्न लागेको नयाँ पार्टीतिर लाग्ने भएका छन् ।
उनीसंगै थप केही नेताहरु पनि नेपालकै पक्षमा जाने बुझिएको छ । गौतमले यस अघि नै विज्ञप्ती जारी गर्दै नेपालले नयाँ दल दर्ता गरे आफ्नो सहयोग हुने सार्वजनिक अभिब्यक्ति दिएका थिए । सरकारले दल विभाजनका लागि अध्यादेश मार्फत कानुन ल्याउने भएपछि एमालेको संस्थापन पक्षले मंगलवार च्यासलमा स्थायी कमिटी बैठक बोलाएको थियो ।
गौतम सो बैठकमा अनुपस्थित भएका छन् । यस अघि बैठकमा सहभागी हुँदा उनले अध्यक्ष केपी शर्मा ओलीकै आलोचना गरेर बैठक छोडेर हिँडेका थिए । गौतमले नयाँ पार्टी दर्ता गर्दा माधव नेपाललाई साथ दिने निर्णय लिएका हुन् । २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित हुँदा उनी तटस्थ बसेका थिए ।
तर फागुन २३ मा एमाले ब्यूँतिएपछि उनी माधव पक्षसँग नजिक थिए । एमालेको बैठकमा सहभागी हुँदै आएका उनी र पत्नी तुलसा थापा पनि नेपालतिरै लाग्ने निर्णयमा पुगेका छन् । एमालेकी अर्की सांसद माया ज्ञवाली पनि मंगलवार देखि नै नेपालतिरै खुलेर लागेकी छन् ।






