काठमाण्डौ । नेकपा एमालेका सांसद डा. भीम रावल अमेरिकी मेलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताका विषयमा जानकार नेता हुन् । उनी यसकारण एमसीसीका जानकार हुन् कि तत्कालीन नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा गठन गरेको एमसीसी अध्ययन कार्यदलमा रावल पनि सदस्य थिए र महिनौं लगाएर कार्यदलले यसबारे प्रतिवेदन तयार पारेर केपी ओली र प्रचण्डलाई बुझाएको थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोलेका सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन हुन थालेको र नुवाकोटमा जग्गा अधिग्रहण भइरहेको भन्दै प्रश्न उठाए । एमसीसी सम्झौतासम्बन्धी सम्पूर्ण कागजपत्रहरु संसदमा पेश गरिनुपर्ने उनले बताए ।
संसदमा बोल्दै एमाले नेता रावलले भने, ‘सम्माननीय सभामुख महोदय, म यहाँबाट सम्मानित सदन र सम्पूर्ण देशभक्त नेपालीहरुलाई भन्न चाहान्छु– जुन सम्झौता प्रतिनिधिसभामा प्रस्तुत भएको छ, त्यो सँगसँगै अरु थुप्रै गोप्य सम्झौता भएका छन् । अमेरिकी राजदुत महोदयबाट एउटा टेलिभिजन अन्तरवार्तामा यो हाम्रो अनुदान होइन, लगानी हो भनेर उहाँ स्वयंले भनेको कुरा प्रशारित भएको छ । हाम्रो संविधानभन्दा माथि अरु कुनै देशको कानुन हुन सक्दैन ।’
रावलले अगाडि भने, ‘एमसीसीसँग भएका मूल सम्झौतासँगै अरु सबै सम्झौताहरु यहाँ (संसदमा) प्रस्तुत गरियोस् । नेपाली जनतालाई यो थाहा पाउने अधिकार छ । त्यहाँ भएका राष्ट्रिय हित, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिविपरीतका प्रावधानहरु संशोधन र परिवर्तन नभई यदि त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ ।’






