काठमाण्डौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक भर्खरै बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न भनेपनि केहि घण्टा पछि मात्र बैठक सुरु भएको छ । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक विवादका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा गए राति आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेका छन् । यो बैठक अघि नै नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ । आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको थियो ।
यस्तै अहिले बसेको बैठकले आफ्नो निर्देशन पालना नगरेको र निर्णायक मोडमा विपक्षीलाई साथ दिएको निष्कर्षसहित एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २७ जना नेताहरुलाई निष्कासनको तयारी गरेका छन् । बालुवाटारमा शनिबार सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकबाट उनको तयारीलाई औपचारिकता दिइने उनी निकट एक नेताले बताए ।
नेता नेपालसहित २७ जना एमाले सांसदले शुक्रबार विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरी नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको दाबीमा हस्ताक्षर गरेका थिए । यसबाट अन्तिम समयमा आएर नेपाल पक्षका नेता योगेश भट्टराईले भने हात झिकेका थिए ।
ओलीले भट्टराई बाहेक २७ जनालाई स्पष्टीकरण सोधेर जबाफ चित्तोबुझ्दो नभएको भन्दै निष्कासन वा सिधै निष्कासनका निर्णय पनि गर्न सक्ने उनी निकट ती नेताको भनाइ छ। उनले भने, ‘पार्टी ह्वीप उल्लंघन गर्ने, विपक्षीलाई साथ दिनेहरु कारवाहीमा पर्नु स्वाभाविक हो । त्यसैको तयारी भइरहेको छ ।’
सत्ता निरन्तरताका लागि पछिल्लो पटक ओली नेपाल पक्षसँग झुके जस्तो गरेपनि अन्तिममा उनले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा आफू निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत नदिएको भन्दै नेपाल पक्षसँग इबी साँधेका छन् ।






