काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन् ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नु पनि सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई संविधान र संसद् कहिल्यै मन नपरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्,
खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद् विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरि विघटन कस्तो सेटिङ ? प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो ।
उनले अगाडि लेखेका छन्,‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण१नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’
सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।
त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् ।






