काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका तर्फवाट नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको टोली शीतल निवास पुगेका छन् । देउवा पुग्नु अघि नै ओली शीतल निवास पुगेर हस्ताक्षर बुझाइसकेको बताइएको छ । देउवाले बहुमत सदस्यको दावीसहित शीतल निवास पुग्दा ओली पहिले नै पुगीसकेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् । जसमा नेकपा एमालेका माधव नेपाल पक्षका २७ सांसदको पनि हस्ताक्षर रहेको बताइएको थियो । तर एक पछि अर्का सांसदले आफुहरुले हस्ताक्षर नगरेको प्रतिकृया दिएका छन् ।
नेपाल पक्षका सुरेन्द्र पाण्डे, जयकुमार राई लगायतले आफूहरुको हस्ताक्षर नगरेको भन्दै सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् । त्यस्तै अर्का नेता योगेश भट्टराई पनि माधव नेपालको निर्णयमा समर्थन नजनाएको बताइएको छ । उनले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर नगरेको बताइएको छ । यद्धपी उनले सार्वजनिक अभिब्यक्ति भने दिएका छैनन् । उनले हस्ताक्षर गर्न असहमति जनाएका थिए ।






