काठमाण्डौ । नेपाली कांग्रेस पछिल्लो राजनीतिक घटनाक्रममा सकृय देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने योजनामा रहेको कांग्रेसले बहुमत ल्याउन नसकेपछि ओली नै फेरी प्रधानमन्त्री बने । त्यस यता कांग्रेसले सरकारका कामका बारेमा ब्यापक समिक्षा जारी राखेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही माग गरेको छ । विहिवार कांग्रेसले कारवाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता समेत गराएको छ । काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकले ओलीलाई कारवाही माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।
प्रधानमन्त्री ओलीले निर्वाचनको मौन अवधिमा विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेदवार रामबहादुर थापा बादलका लागि भोट मागेका थिए । विहिवारको राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्दै उनले मौन अवधिमा विज्ञप्ती निकालेको भन्दै काँग्रेसले विरोध गरेको थियो ।
कांग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो । यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए ।






