काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता भंग भएकोमा दुख ब्यक्त गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न नेकपा एमाले र माओवादी केन्द्र मिलाएर नेकपा बनाइए पनि त्यो सफल हुन नसकेकामा दुःखमनाउन गरेका छन्।
कम्युनिस्ट नेताहरू मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको विज्ञप्तीले प्रधानमन्त्री ओलीले कम्युनिष्ट एक गर्ने मनोकामना केही विभाजन चाहने नेताहरुका कारण पुरा हुन नपाएको आरोप लगाएका छन् ।
२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमवार बिहान विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले नेपाली राजनीति तथा कम्युनिस्ट आन्दोलनमा उनीहरूको योगदानको स्मरण गरेका हुन्।
‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने, यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो,’
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’ मदन आश्रित स्मृति दिवसका अवसरमा सोमबार प्रेस वक्तव्य जारी गर्दै ओलीले मदन भण्डारीका विविध पक्षबारे चर्चा गरेका हुन् । ‘मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक हुनुहुन्थ्यो,’
प्रेस वक्तव्यमा ओलीले भनेका छन्, ‘नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षामाथि आधारित भएर उहाँले जनताको बहुदलीय जनवाद (जवज) को प्रतिपादन गर्नुभयो ।’







