काठमाडौ । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्यले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको बताएका छन् ।
सोमबार ट्वीट गर्दै उनले यस्तो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गरेका हुन् । उनले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणीसमेत गरेका छन् ।
उल्लेखनीय छ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर सोमबार ती प्रदेश प्रमुखमा क्रमशः सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सोमबार नै सपथ लिएका छन् ।
योपनि पढौं
राष्ट्रपतिद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त, शितलनिवासमा सपथ
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका
प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई आजै शपथ गराईन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।






