काठमाण्डौ । नेकपा (एमाले) पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शनिबार एक वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता(कार्यकर्ताहरुले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न आह्वान गरेका छन् ।
१३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै गौतमले आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताले आफ्नो गल्ती कमजोरी प्रति आत्मआलोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन भएको उल्लेख गरेका छन् ।
भनेका छन्, ‘मबाट पनि यसबीच केही कमजोरी र गल्ति भएका छन् । आफ्ना गल्ति र कमजोरीप्रति आत्मआलोचित छु । तिनलाई सच्याउन लागि परेको पनि छु। भविष्यमा सबै तथ्यहरु क्रमशः स्पष्ट हुँदै जाने छन् ।’ उनले अगाडि भनेका छन्, ‘अहिले श्रमजीवीवर्गका नेताहरुले सत्तास्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवीवर्गीय आन्दोलनलाई छियाछिया वनाइ रहेकाछन् ।
यस्तो क्रियाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुने छ । ऐतिहासिक उपलब्धि समाप्त हुने छन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको संवृद्ध समाजवादमा पचासौं बर्षसम्म पर्दा लाग्नेछ ।’
यस्तो छ प्रेस विज्ञप्ति
आज सन २०२१ को मइ दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको अहालमा उभिएर संसार भरिका आततायी पूँजीपतिहरुका विरुद्धको लड़ाइमा पहिलो सफलता घोषणा गरेको दिन, मइ दिवसकै बाटोमा दृढतापूर्वक अगाडि वढेर आज नेपाली श्रमजीवीवर्गले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
तर अहिले श्रमजीवी वर्गका नेताहरुले सत्ता स्वार्थ प्रेरित कायाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छिया छिया बनाइ रहेका छन् ।यो कृयाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुनेछ । ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको सम्वृद्ध समाजवादमा पचासौं बर्षसम्म पर्दा लाग्नेछ ।
तसर्थ आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता (कार्यकर्ताहरुका लागि आफ्ना गल्ति कमजोरी प्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो । म बाट पनि यस विच केही कमजोरी र गल्ति भएका छन् । आफ्ना गल्ति र कमजोरी प्रति आत्मालोचित छु तिनलाई सच्याउन लागि परेको पनि छु।भविष्यमा सवै क्रमशस् स्पष्ट हुदैजाने छन् ।
वामदेव गौतम
सदस्य नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रिय अभियान
१ मइ २०२१






