काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् । पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अवधारणा अनुसार इतिहास झल्कने र प्रविधि टल्कने गरी बनेको बताए ।
उनले धरहराको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘अहिले पहिलाको जस्तो धरहरा देख्दा हामी सबैलाई खुसी बनाएको छ । यो धरहरा सुन्दर र आकर्षित तर मजबुद बनेको छ । हामीले ल्याएको अवधारणा अनुसार इतिहास झल्कने धरहरा पुनर्निर्माणमा जुट्ने सबैलाई हार्दिन धन्यवाद दिन्छु ।’
उनले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गरेका छन् । उनले सडक पूर्वाधार निर्माणसहित पुनर्निर्माणका काम अघि बढेको बताए । विश्व कोभिड १९ को महामारीसँग जुधिँरहेको स्मरण गर्दै प्रधानमन्त्रीले कोभिडबाट सुरक्षित रहँदै विकास र निर्माणका कामलाई अघि बढाएको बताए ।
प्रधानमन्त्री ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताएका छन् । उनले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताए । धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उनको भनाइ छ ।
यस्तै, उनले कोही पनि भोकै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गर्नु भएको छ । यस्तै, प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भिकारीमुक्त बनाउने पनि बताए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले एक समारोहकाबीच शिलालेखको अनावरण गरेर धरहराको उद्घाटन गरेका हुन्। त्यसपछि २० तल्लामा रहेको बर्दालीमा पुगेर पुष्पवृष्टि गरेका थिए ।
रिवन काटेर धरहरा प्रवेश गरेका प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तल्ला पुगेर ओलीले पुष्पवृष्टि गरेका हुन् । ओलीले केही समय राजधानीको दृश्यसमेत अवलोकनसमेत गरेका थिए । प्रधानमन्त्री ओलीले २० औँ तलामा पुगेर धरहराको उद्घाटन गरे पनि यो सर्वसाधरणको लागि खुला भएको छैन् । धरहराको आसपास अन्य संरचनाको काम नसकिएकाले अझै ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताए । उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद घटनामा ज्यान गुमाउने प्रति समवेदना प्रकट गरेका छन् ।
शुभकामना मन्तव्यका क्रममा केपी ओली नेतृत्वको सरकारको तारिफ गरेका उनले भने, ‘प्रधानमन्त्रीको अठोटकै कारण आज देश विकासको गतिमा फड्को मारेको छ । यो आँट र शाहस देखाउने प्रधानमन्त्रीलाई धन्यवाद ।’ पुनर्निर्मित धरहरा ४२ रोपनीमा फैलिँएको छ ।






