काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपालसँग कुरा नमिलेपछि पुर्व उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री साथै एकता अभियानका संयोजक बामदेव गौतमसंग कुरा मिल्छ कि भन्ने दाउमा लागेका थिए । प्रधानमन्त्री ओलीको त्यो दाऊपनि सफल भने हुन सकेन ।
नेता गौतमलाई फकाउनकोलागी प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा डिनर मिटिंग समेत राखेका थिए । तर गौतमको प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरेको हुनाले डिनर चल्दै गर्दा नेता गौतम नमस्कार गरेर जुरुक्कै उठीदिए । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङमा कुरा नमिलेको नेता गौतमले बताएका छन् ।
हिमालय न्यूज हबसंगको कुराकानीमा उनले भने,‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो ।’
प्रधानमन्त्री ओलीले गत फाल्गुन २८ गतेको निर्णय फिर्ता हुँदैन भनेपछि आफूले ओलीसँग बैठकमा आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ । गौतमले भने,‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’ गौतमको भनाई अुनसार अध्यक्ष ओलीले माधन नेपाल र उनका पक्षका नेताहरुको धेरै नै आलोचना गरेका थिए ।







